सलमानसँग नेपाल आउँदै क्याट्रिना ?

काठमाडौं । बलिउड अभिनेता सलमान खानले विश्वव्यापी गर्न लागेको ‘दबङ रिलोडेड’ यात्रामा अभिनेत्री क्याट्रिना कैफ पनि आबद्ध भएकी छन् । समाचारअनुसार यी दुई स्टार अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा क्याट्रिनाले आगामी जुन र जुलाई महिनामा क्यानाडा र अमेरिकामा हुन लागेको ‘दबङ रिलोडेड’मा आफूलाई संलग्न गराएकी हुन् ।

यो टुरको अन्तर्राष्ट्रिय प्रमोटर साहिल प्रमोसनका भावेश पटेलले फिल्मले सफलताको स्वाद चाखिरहँदा क्याट्रिनाले सलमानसँग टुरमा हिड्ने निर्णय गरेको बताए । ‘फिल्मको अनस्क्रिनमा यो जोडी विशेष जोडी हो भन्ने सबैलाई थाहा छँदैछ । यही मौका आफ्ना फ्यानलाई विशेष उत्साहित बनाउन दुवैजनाले एउटै स्टेज शेयर गर्ने सहमति बनिसकेको छ ।’ उनले भनेका छन् ।

सलमानको टिमको यो यात्रामा सलमान र क्याट्रिनासँगै ज्याकुलिन फर्नान्डिज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल र डेजी शाहको पनि उपस्थिति हुनेछ । यो यात्राले हङकङ, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यूके र दिल्लीमा एउटा इतिहास रचिसकेको छ । यो यात्रा नेपाल, पुने, दुबई, कोलकाता, दक्षिण अफ्रिकामा पनि चाँडै हुँदैछ । यात्राका लागि सबै तयारी पुरा भइसकेको साहिलले बताएका छन् । फिल्मको लगातार सुटिङको सेड्युल भए पनि सलमानले ‘दबङ रिलोडेड’का लागि समय मिलाइसकेको उनले दाबी गरेका छन् ।