राजनीतिक नेतृ बनिन् केकी !

काठमाडौं । राजनीतिमा सार्वजनिक रुपमा संलग्न नभए पनि समय समयमा सामाजिक सञ्जालमा राजनीतिका विषयमा आफ्नो धारणा राख्ने नायिका केकी अधिकारी राजनीतिक नेतृ बनेकी छन् । चुनाव सकिएको लामो समयपछि उनी गाउँपालिका अध्यक्षका रुपमा सार्वजनिक भएकी छन् । नायिका तथा निर्मात्री केकी अधिकारी गाउँपालिका अध्यक्षका रुपमा देखिएकी छन् । तर उनी वास्तविक जीवनमा गाउँपालिका अध्यक्ष भने भएकी होइनन् । उनी अभिनित सामाजिक फिल्म ‘गाउँकी छोरी’मा केकीलाई गाउँपालिका अध्यक्ष लुक्समा दर्शकमाझ देखिएकी हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्षका रुपमा प्रस्तुत गरिएको छ ।

दीपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको फिल्ममा स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई देखाइएको छ । ‘पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन् । स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ।’ निर्देशक सरोजले भने ।

नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको यो फिल्म युट्युबमा केहि सातापछि सार्वजनिक हुनेछ । अभिमन्यु निरवीले लेखेको कथामा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।