पतिबाट अलग्गिँदै कुमकुम भाग्यकी जुही

मुम्बई(एजेन्सी) । बलिउडमा यो वर्ष धेरै बलिउडकर्मीले विवाह गरे । विवाहको माहौलमा बलिउड रमाइरहँदा एउटा सम्बन्धविच्छेदको खबर यतिबेला चर्चामा छ । एकता कपूरको प्रख्यात टेलिभिजन शो ‘कुमकुम’की चर्चित कलाकार जूही परमार र उनका पति सचिन श्राफले सम्बन्धविच्छेद गरेका छन् । आठ वर्षदेखिको उनीहरुको वैवाहिक सम्बन्धले हालै पूर्णविराम लिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विगत केही दिनदेखि उनीहरुको सम्बन्ध टुट्ने चर्चा बजारमा निकै चलेको थियो । यही चर्चालाई सत्यतामा परिणत गर्दै दुवैले मुम्बईको बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका छन् ।

जूही ‘कुमकुम’का अलावा केही रियालिटी शोमा पनि हिस्सा बनेकी थिइन् । उनीहरु दुवैले एकापसको सहमतिमा अलग्गिने निर्णय गरेका हुन् । सचिन र जूहीको चार वर्षकी छोरी समायरा छिन् । हाल समायरा आफ्नी आमाका साथ बसिरहेकी छन् । समाचार अनुसार विगत एक वर्षदेखि जुही पतिसँग छुट्टिएर अलग्गै बस्दै आएकी छन् । सचिन र जुहीले सन् २००९ मा जयपुरमा विवाह गरेकी थिए । उनीहरुले सन् २०११ मा नै अलग्गिने निर्णय लिएका थिए । छोरीको जन्मपछि उनीहरुको सम्बन्धमा केही सुधार भए पनि अहिले त्यो सुधार हुन सकेन ।