सुमनको गीतमा घरबास उठाउनेको कथा

काठमाडौं । गाउँका युवाहरु खाडी मुलुक गएर धन कमाउने घरको ऋण तिर्ने, सुखी परिवार बनाउने भन्ने सपनाहरु बोकेर विदेशिएका छन् । उनीहरुको सपना एकारित हुँदाहुँदै घरमा परिवारको जिम्मेवारी लिएकी आफ्नी श्रीमती घरपरिवार, बच्चा छाडेर अर्कैसँग गइदिँदाको पीडाभित्र धेरै युवाहरु पनि पिल्सिएका छन् । यी अपवादका घटनाहरु पछिल्ला समयमा धेरै नै बजारमा आउने गरेका छन् । त्यही मेसोमा परेका छन् नवगायक दिनेश दाहाल क्षेत्री ‘धनेन्द्र’ ।

घरमा प्रेम विवाह गरेर ल्याएकी श्रीमती, बच्चा, आमा छाडेर विदेश हिँडेका दिनेशको पनि यतिखेर सर्बश्व गुमेको अवस्था छ । त्यही यथार्थ घटनालाई गीतमा उतार्दै गायक दिनेशले आफ्ना अनुभव र पीडालाई सबैको सामु पोख्न तयार भएका छन् । गायक दिनेश दाहाल क्षेत्रीको स्वरमा रहेको गीत ‘निष्ठुरी’ एल्बममा रहेको बैगुनीलाई सम्झी रुने दिन यतिबेला सार्वजनिक भएको छ । चर्चित गायक राजन ठकुरीको संगीत र पत्रकार सुमन बैरागीको शब्द रचना रहेको गीत निष्ठुरीभित्र पनि प्रवास जाँदा घरबास उठाउनेकै कथा समावेश गरिएको छ ।

गीतको म्यूजिक भिडियोमा भने मोडल नारायण ढकाल, प्रभा पौडेल र अवतार शाक्यको अभिनय रहेको छ । सागर गौतमको छायाँकन र दिनसन शाहको सम्पादन रहेको म्यूजिक भिडियोलाई गीतकार सुमन बैरागीले नै निर्देशन गरेका छन् । भिडियोको पोष्ट प्रोडक्सन श्रीराज इन्टरटेनमेन्टले गरेको हो भने अडियो भिडियो उत्पादन एवं बजार व्यवस्थापन भने शुभकामना मिडिया सोलुसनले गरेको हो ।