प्रभाष भन्छन्,‘अब बाहुबली खेल्दिन्’

मुम्बई(एजेन्सी) । गत वर्षको ब्लकबस्टर बलिउड फिल्म ‘बाहुबली २’ले हिन्दी फिल्ममा कमाईदेखि लिएर फिल्मको ख्यातीसम्मलाई नयाँ रेकर्ड कायम गरिदिएको छ । यो फिल्मको हरेक कलाकारलाई दर्शकले स्टार बनाइदिए र निर्देशक एस रामामौलीलाई दर्शकले बक्स अफिसको बाहुबली नै बनाइदिए ।

तर यो फिल्मका बाहुबली अर्थात प्रभाष अब यो फिल्मको सिक्वेलमा बाहुबली नबन्ने मनस्थितिमा छन् । २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को प्रश्न ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ भन्ने प्रश्नको जवाफ २०१७ मा रिलिज फिल्मको सिक्वेलले दियो । यो फिल्मको तेस्रो सिक्वेल कहिले आउला भन्नेमा दर्शक अझै प्रतिक्षारत छन् ।

फिल्मको नयाँ सिक्वेल आए पनि सिक्वेलमा प्रभाष भने नदेखिने अब निश्चित भएको छ । उनले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै यो संकेत दिएका हुन् । ‘फिल्म निकै राम्रो थियो । तर बाहुबली जस्तो फिल्म फेरि खेल्दिन । यो मेरो करियरका लागि ठिक पनि होइन् । यो फिल्म मेरो करियरका लागि ठूलो जोखिम थियो किनकी पाँच वर्ष मैले यो फिल्मलाई दिइसकेको थिएँ ।’ उनले भनेका छन् ।

प्रभाषले भनेजस्तै उनले पाँच वर्ष बाहुबलीकै लागि समय दिए । फिल्मकै लागि ठूलो खर्चमा डाइटिङ पनि गरे । ‘कलाकारसँग सीमित समय हुन्छ । म मान्दछु कि अब म एउटा फिल्मका लागि पाँच वर्ष समय दिन सक्दिन । यदि मैले कुनै कामका लागि यति लामो समय दिएँ भने अन्य काम रोकिन्छ । एउटै फिल्मलाई लामो समय दिनु मेरो करियरका लागि राम्रो पनि हुँदैन ।’ उनले भनेका छन् । प्रभाषको फिल्मले पहिलो दिनमै भारतमा सय करोडको रेकर्ड कायम गरिदिएको थियो ।