शेरबहादुरमा सन्काहा राते काइँला

काठमाडौं । अभिनेता सुनिल थापाले बलिउड फिल्मबाट अभिनयमा डेब्यु गरे पनि उनी नेपालमा चाहिँ फिल्म ‘चिनो’बाट ‘राते काइला’ चरित्रमार्फत नेपाली दर्शकमाझ चिनिए । अधिकांश फिल्ममा भिलेन चरित्रमा देखिएका सुनिल पछिल्ला केही फिल्ममा मात्र सकारात्मक भूमिकामा देखिएका छन् ।

यिनै सुनिल अब फिल्म ‘शेरबहादुर’मा सन्काहा स्वभावको पात्रको रुपमा देखिँदैछन् । अवकाश प्राप्त सेनाको भूमिकामा देखिन लागेका सुनिल फिल्ममा निकै रिसाहा छन् । फिल्मका निर्देशक आर राजवंशीका अनुसार निडर, सन्की र बलियो पात्र शेरबहादुर बनेका सुनिल नै फिल्मको मुख्य पात्र हुन् । ‘शेरबहादुर आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउँछन् । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था फिल्मले चित्रण गरेको छ ।’ उनले भने ।

सुनिलको अलावा फिल्ममा कर्मा, रविन्द्र झा, मेनुका प्रधानलगायतको अभिनय रहेको छ । आउँदो माघ १९ गते फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मको निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् । फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाएको छ । फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । फिल्ममा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशीको लगानी छ ।