सञ्जयको आमा बन्दा यस्ती देखिइन् मनिषा

मुम्बई(एजेन्सी) । बलिउडमा यतिबेला सञ्जय दत्तको जीवनमा आधारित रहेर उनको बायोपिक फिल्म बनिरहेको छ । फिल्मको नाम फाइनल नभईकन फिल्मको धमाधम सुटिङ भइरहेको छ । हालसम्म फिल्मका प्रमुख अभिनेता रणवीर कपुरको मात्र सञ्जय दत्त शैलीको लुक्स बाहिर आइसकेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार केही समय अघि मात्र अभिनेत्री मनिषा कोइरालाको फिल्मी लुक्स पनि सार्वजनिक भएको छ । जुन तस्वीर सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ । फिल्ममा मनिषाले सञ्जय दत्तकी आमा अर्थात नरगिस दत्तको भूमिका निर्वाह गरेकी छन् । सार्वजनिक तस्बिरमा मनिषालाई नरगिसको लुक्समा देखाइएको छ । तस्वीरमा फिल्मका निर्देशक राजकुमार हिरानी र कलाकार रणवीर कपुर पनि देखिएका छन् ।

तस्बिरमा मनिषा निकै राम्री देखिएकी छन् । उनको तस्बिर हेर्दा मनिषाले फिल्ममा आफूलाई पूर्ण रुपमा नरगिसको रुपमा ढालेकी छन् । मनिषा बलिउडमा फिल्म ‘१९४२ ए लभ स्टोरी’, ‘बम्बे’ र ‘खामोशी’ जस्ता फिल्मले बढी चिनिन्छ । मनिषाले क्यान्सरबाट मुक्ति पाएपछि सन् २०१७ मा फिल्म ‘डियर माया’मार्फत बलिउडमा पुनरागमन गरेकी थिइन् । फिल्ममा पुनरागमन गरेपछि नरगिसको लुक्समा उनको अभिनय कस्तो हुनेछ भन्ने आम जनमानसमा कौतुहलता छ ।

फिल्ममा आफ्नो आमाको चरित्रमा ढाल्नका लागि मनिषालाई नरगिसकी छोरी प्रिया दत्तले ‘मिस्टर एण्ड मिसेज दत्त–मेमोरीज अफ अवर प्यारेन्टस्’ किताब उपहारका रुपमा दिएकी थिइन् । फिल्ममा दीया मिर्जा, परेश रावल, अनुष्का शर्मा, विक्की कौशल र सोनम कपूरको पनि अभिनय छ । फिल्म यसैवर्ष रिलिज हुने सञ्चारमाध्यमले जनाएका छन् ।