२०७५ को दशैंमा आउँदै राजुको निर्जला

काठमाडौं । निर्देशक राजु गिरीको नयाँ फिल्म ‘निर्जला’ को सम्पूर्ण छायांकन सकिएको छ । भक्तपुरको घ्याम्पे डाँडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत गीतमा सुजता बर्मा र बाबुलले स्वर दिएका छन् ।

गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले नाँचेका छन् । पौषको चिसो मौसममा कोरियोग्राफर कमल राईले दुई दर्जन कोरससँगै कलाकारलाई नँचाएका थिए । प्रकाश चन्द्र न्यौपाने निर्मित फिल्म आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन रिलिज हुनेछ ।

शुभेच्छाकै कथा तथा संवाद रहेको फिल्म मौलिक नेपाली शैलीमा नारी प्रधान कथामा निर्माण गरिएको निर्देशक गिरीले बताए । ग्ल्यामर र विवादमा तानिने फिल्म बनाउन माहिर राजुले यसपटक फिल्ममा त्यस्तो कुनै दृश्य नराखेकोले परिवारले बसेर हेर्न गाह्रो नहुने ठोकुवा गरे ।

व्यवसायीसमेत रहेका प्रकाशले यसै फिल्म मार्फत फिल्म निर्माणमा डेब्यु गरेका हुन् । फिल्ममा किशोर, शुभेच्छा र निक्सको अलावा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापालगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित फिल्ममा अशोक खड्काको द्वन्द्व र रवि लामिछानेको छायांकन छ ।