सिलीगुडीको निल एकेडेमीमा आमा तुलसाको कैची

काठमाडौं । नेपालका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले एनडीके मेकअप स्टुडियो तथा एकेडेमीलाई भारतको पश्चिम बंगालस्थित सिलीगुडीमा विस्तार गरेका छन् । केही वर्षदेखि सिलीगुडीमा सैलुन सञ्चालन गर्दै आएका डेभिडको एकेडेमीको उनकै आमा तुलसा सिलवालले शुभारम्भ गरिन् । कार्यक्रममा निलले सिलीगुडीका सौन्दर्य पारखी तथा सेलिब्रेटीको माग बमोजिम सिलीगुडीमा पनि मेकअप स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याएको बताए । निलले थाइल्याण्ड, भारत, सिंगापुर र लण्डनका नाम चलेका हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टका साथ हेयर स्टाइल र मेकअप सम्बन्धी तालिम र अध्ययनपछि नेपालमा आएर व्यवसाय शुरु गरेका हुन् ।

विभिन्न नेपाली सेलिब्रेटीलाई हेयर स्टाइलमार्फत नयाँ लुक्स दिएका निलले नेपाल र भारतका विभिन्न स्थानमा हेयर सलुन सञ्चालन गरी पहिलो नेपाल आइडलको हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टसमेत बनिसकेका छन् । उनले झापाको लक्ष्मीपुरस्थित जन्मथलोमा एसियाकै ठुलो हेयर एकेडेमीसमेत सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

‘मेरो जन्मभूमि लक्ष्मीपुरका लागि केही गर्ने ठुलो सपना थियो । यो सपना पूरा गर्न लक्ष्मीपुरमा एसियाकै ठुलो निल डेभिड्स इन्टरनेशनल हेयर एकेडेमी सञ्चालन गर्न लागेको हुँ’ उनले भने ‘आगामी वैशाख ८ गते सिलान्यास हुनेछ ।’ उनका अनुसार यो एकेडेमी ४ तलाको हुनेछ । उनले झापाको एकेडेमीबाट वर्षेनी ३० जना गरिबलाई निःशुल्क तालिम दिने योजना बनाएका छन् ।

उनले मुम्बईको स्वस्ती मेनेमजेन्ट कम्पनीसँग भारतका विभिन्न शहरमा आप्mनो सय ब्राण्ड फ्रेञ्चाईजी सञ्चालन गर्ने गरी सम्झौता गरेका छन् । जसअनुसार आसामको गुहाटीमा फ्रेञ्जाइजी सञ्चालनमा ल्याईसकेका छन् भने आगमी १६ जनवरीमा बलिउडका बिग बी अमिताभ बच्चनको नगरी अलाहबादमा अर्को फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

उनका अनुसार सन् २०१९ मा अष्ट्रेलियाको सिड्नीमा समेत फ्रेञ्चाइजी सञ्चालनमा आउनेछ । काठमाडौंसहित झापाको बिर्तामोड, पथरी, नेपालगञ्ज, भैरहवा, र धरानमा समेत फ्रेञ्चाइजी खोल्ने सम्झौता गरिसकेका निलले पहिलोपटक एकै ठाउँमा महिला र पुरुषको हेयरसम्बन्धी सेवा दिने गरी अत्याधुनिक सुविधाका साथ निल डेभिड्स युनिसेक्स हेयर सलुन सञ्चालनमा ल्याएपछि उनलाई पछ्याँदै विभिन्न शहरमा त्यस खाले सलुन सञ्चालनमा आईरहेका छन् ।