संकटमा पद्मावती, फेरिँदैछ कथा !

मुम्बई(एजेन्सी) । गत सोमवार साँझ सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’को रिलिज डेट सार्वजनिक भएपछि यो फिल्मको प्रतिक्षाका गरिरहेका दर्शकका लागि नयाँ उत्साह आएको छ । तर यो फिल्मको प्रतिक्षा गरिरहेका दर्शक तथा फ्यानका लागि अर्को एउटा दुःखद खबर छ । यो फिल्मलाई सेन्सर बोर्डले पाँच वटा दृश्य परिवर्तन गरेर मात्र रिलिजका लागि अनुमति दिइएको प्रारम्भिक समाचार आए पनि ती दृश्यमा परिवर्तन गर्दा फिल्मलाई ठूलो क्षतिपुग्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्ममा रहेको पाँच दृश्यलाई फेर्नुपर्दा फिल्मका ३ सय बढी दृश्य काट्नुपर्नेछ । अर्थात पाँच दृश्य काट्दा फिल्मको कथा नै फेरिने फिल्मसँग सम्बन्धित प्राविधिकले जनाएका छ्न । फिल्ममा प्रयोग गरिएका  ‘मेवाड’, ‘दिल्ली’ र ‘चित्तौड’ जस्ता शब्द हटाउनुपर्नेछ । आगामी जनवरी २५ मा रिलिज हुने भनिएको यो फिल्म प्रदर्शनमा आएपछि यी दृश्यमा प्रयोग गरिएको नयाँ संवादले दर्शकलाई अन्यौल सिर्जना गर्ने अनुमान गरिएको छ ।

निर्माणपक्षले दर्शकमाझ फिल्मलाई एक काल्पनिक कथाको मिश्रणका रुपमा देखाउने तयारी गरिरहेको छ । लामो समयदेखि विवादमा घेरिएको यो फिल्ममा दीपिका पादुकोण रानी पद्मावती, शाहिद कपूर महारावल रतन सिंह र रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा छन् । यी पात्रहरु इतिहासका पानामा पसिसकेका छन् । तर अब फिल्मको पर्दामा यी चरित्रलाई काल्पनिक पात्रको रुपमा देखाइनेछ र फिल्मको शुरुमै डिस्क्लेमर भनिनेछ ।

सेन्सर बोर्डको आदेश अनुसार फिल्मका पाँच दृश्य काटिने भएपछि फिल्म युनिटले फिल्मलाई पुनः सम्पादन गर्न दिनरात नभनीकन कामका लागि सम्पादकलाई हाइ एलर्टमा राखेको छ । फिल्मलाई रिलिजको अनुमति दिइएपनि फिल्मप्रति विरोध गर्नेको आक्रोश घटेको छैन । यो फिल्म अक्षय कुमारको ‘पैडमैन’सँग भिड्नेछ । विदाको समयमा रिलिज हुन लागेकाले पनि फिल्मले राम्रो व्यापार गर्ने अनुमान दुवैपक्षले राखेका छन् ।