शितलहर पीडितलाई राज्जा रानीको राहत

राजविराज । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा फिलम ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ ।

‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताए । यो संस्थाले नेपाली भाषाको फिल्म ‘राज्जा रानी’लाई मैथिली भाषामा रुपान्तरण गर्दै तराईका विभिन्न जिल्लामा प्रदर्शन गराइरहेको छ ।

विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि संस्थाका अगुवा राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे । उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गरे । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ ।

यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने महतोले बताए । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित फिल्ममा केकी अधिकारी र नाजिर हुसेनको प्रमुख भूमिकामा अभिनय छ । फिल्मका निर्देशक यम थापा हुन् ।