नर्वेमा देखाइँदै उमेश–कविताको बोबी

काठमाडौं । वास्तविक जीवनमा प्रेमजोडी रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथालाई पर्दामा प्रस्तुत गरिएको फिल्म ‘बोबी’लाई नर्वेमा बस्दै आएका नेपालीमाझ देखाइने भएको छ । मिलन चाम्स निर्देशित फिल्मलाई आगामी मे १० मा नर्वेको भिका भिक्टोरियामा प्रिमियर गरिन लागिएको हो । भिका भिक्टोरियामा हलिउडका मिसन इम्पोसिबल, जेम्स बोन्डका फिल्म प्रिमियर भइसकेका छन् ।

फिल्मलाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले देखाउने छ । फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह, रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ ।

नर्वेमै बस्ने इन्जिनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको फिल्मको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।