कतार तताउँदै नेपाली कलाकार

काठमाडौं । रोजगारीका लागि कतारमा कार्यरत नेपाली समुदायलाई मनोरञ्जन दिन आगामी मार्च ८ र ९ मा ‘सुपरस्टार नाइट्स’ नामक वृहत सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई अन्तरर्राष्ट्रिय बजारमा विकास र प्रवद्र्धन गर्न कतारका २ शहरमा कार्यक्रम हुन लागेको हो । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टले कुमारी बैंक र बुम रेमिटसँग सहकार्य गर्दै आयोजना हुन लागेको कार्यक्रममा नाम चलेका कलाकारहरुको सहभागिता हुनेछ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको छ ।

बुम रेमिटका प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तले पाँच लाख नेपालीहरुको बसोबास रहेको कतारमा आफ्नो कार्यक्रम प्रभावकारी हुने दाबी गरे । ‘यो कार्यक्रमको आयोजनाले नेपाली गीत, संगीत, हाँस्य व्यंग्यको विकास र प्रबद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेमा हामी विश्वस्त छौं,’ उनले भने । उनका अनुसार मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार र मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थिति हुनेछ ।

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टका प्रमुख मनोज केसीले दर्जन बढी कलाकार लगेर कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेपनि आफूहरु यसमा सफल हुने विश्वास व्यक्त गरे ।  कलाकार जीतु नेपालले विदेशमा कार्यक्रम धेरै हुने गरेतापनि यो कार्यक्रमलाई विशेष बनाउन आयोजक र कलाकारले ध्यान दिने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले कतारमा रहेका नेपालीलाई कार्यक्रममा रमाउने तयारी गर्न आग्रह गरेका छन् ।

आयोजकका अनुसार कार्यक्रममा हा“स्य कलाकार जितु नेपालको कमेडीसँगै नायिकाहरु निरुता सिंह, अनु शाहको नृत्य, आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ, संगीतकार तथा गायक राजनराज शिवाकोटीको गीति प्रस्तुति हुनेछ ।त्यस्तै राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कु“वरले कार्यक्रममा गीत गाउँदा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्ना डान्सिङ नम्बरका गीतमा कम्मर मर्काउनेछन् । संगीक्षा फिल्मस्ले यसअघि यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको छ ।