जापानका सहरमा पिंजडा ब्याक अगेन

काठमाडौं । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’ नेपाल रिलिज पछि जापानका सहरमा प्रदर्शन हुने भएको छ । आगामी माघ ४ गते नेपालमा रिलिज हुन लागेको फिल्म नेपाल रिलिजको १० दिनपछि जनवरी २८ मा जापानमा प्रदर्शन हुन लागेको हो ।

शोमा निर्देशक हिमाल केसीसँगै अभिनेता निखिल उप्रेतीले सहभागिता जनाउनेछन् । जापान जानका लागि काठमाडौंस्थित जापानी राजदूतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई पनि जापानको लागि भिषा दिइसकेको छ ।  निर्देशक केसीका अनुसार जापानमा रहेको क्लासिक युथ जापानले त्यहाँ फिल्म प्रदर्शनको चाँजोपाजो मिलाएको छ । ‘टोकियोको प्रदर्शनपछि अन्य सहरमा पनि भिन्न भिन्न मितिमा फिल्म देखाइनेछ,’ उनले भने ।

श्रीराम बरालको प्रस्तुति तथा रोहित पुरी र गोविन्द गैरेको निर्माण रहेको फिल्ममा निखिलसँगै सारा सिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको अभिनय छ । फिल्ममा मौनता श्रेष्ठको पटकथा र राजनराज सिवाकोटी तथा अर्जुन पोखरेलको संगीत छ ।