अनफलोको मारमा सेलेना गोमेज

लसएन्जल्स(एजेन्सी) । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा फ्यान फलोर बढाईरहने हलिउड सेलिब्रेटीमा पर्छिन् । यिनै सेलेना अहिले त्यही इन्स्टाग्रामका फ्यानका कारण तनावमा छिन् ।  दिनानुदिन फ्यान फलोइङ पाइरहेकी सेलेनाको इन्स्टाग्राममा अहिले फ्यानको संख्या दिनानुदिन घट्न थालेका छन् ।

दैनिक रुपमा तीन सय फलोअर आउने उनको इन्स्टाग्राममा अहिले दैनिक दुई सयको संख्यामा फलोअरले अनफलो गर्न थालेका छन् । अहिले दिनमा मुस्किलले ३७ को संख्यामा मात्र फलोअर इन्स्टाग्राममा जोडिन्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई अनफलो गर्ने समूहमा ठूला सेलिब्रेटीहरु पनि छन् । डेमी लोवातो र गिगी हदीदलगायतका सेलिब्रेटीले पनि उनलाई अनफलो गरेका छन् । उनलाई अनफलो गर्ने सुचीमा उनीसँग काम गरेका अभिनेताहरु पनि छन् ।

उनलाई दैनिक रुपमा यति धेरै संख्यामा किन अनफलो गरिरहेका छन् भन्ने कुराको कारण केही खुल्न सकेको छैन । केही समय अघि उनको इन्स्टाग्राम एकाउण्ट ह्याक पनि भएको थियो । ह्याकरले उनको पूर्व प्रेमी जस्टिन बिबरको नग्न तस्वीर उनको इन्स्टाग्राममा पनि राखिदिएका थिए । तर सेलेनाको इन्स्टाग्राम समूहले यो कुरा पत्ता लगाएपछि त्यो समस्यालाई समाधान गरेका थिए ।