सुटिङस्थलमै सलमान असुरक्षित भएपछि…

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानलाई पछिल्लो दिनमा ग्याङस्टार लोरेन्स बिसनोईले ज्यानले मार्ने धम्की दिएपछि उनको सुरक्षा व्यवस्था कडा पारिएको छ । कडा सुरक्षा व्यवस्था भए पनि बुधबार मुम्बईको फिल्मसिटीमा भएको फिल्म ‘रेस ३’को सुटिङ सलमानकै कारण रोक्नुपर्यो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको फिल्मको सुटिङ हुने ठाउँको सुरक्षा व्यवस्था मजबुत नभएको सूचना प्रहरीकोमा पुगेपछि प्रहरीकै अनुरोधमा फिल्मको सुटिङ रोक्नुपरेको हो । सुटिङस्थलमा एक हतियारधारी व्यक्तिको प्रवेश भएको सूचना पाएपछि प्रहरीले उक्त व्यक्तिलाई रोकेर त्यो दिनको फिल्मको सुटिङ नै रोक्नुपर्यो ।

प्रहरीले सूचना पाएपछि निर्माता रमेश तौरानीले सम्भावित हुनसक्ने घटना बारे जानकारी गराएपछि सलमानलाई प्रहरी सुरक्षाका साथ घर फर्काइएको थियो । प्रहरीले सलमानलाई तत्कालका लागि सामाजिक सञ्जालमा सक्रियता देखाउन र मिडिया तथा फ्यानमाझ आउने काम रोक्न आग्रह पनि गरेको छ । सडकमा साइक्लिङमा हिड्न रुचाउने सलमानलाई त्यो काम पनि नगर्न भनेको छ। बढी भन्दा बढी सतर्क अपनाउन आग्रह गरिएपछि सलमानलाई आफ्नो गाडीमा नभई अर्को गाडीमा घर पठाइएको थियो ।

प्रहरीले बिसनोईले सलमानलाई दिएको धम्की प्रति निकै गम्भीरता देखाएको छ । सलमानका सुरक्षागार्ड शेरा पनि हद भन्दा अधिक सतर्क हुने कोशिस गरिरहेका छन् । सलमान फिल्मको सुटिङसँगै लोनावलामा बीग बोसको ११ औं संस्करणको सेटमा पनि जाने तयारीमा छन् ।