फिल्म निर्माण गर्दै दीपक लिम्बु

काठमाडौं । प्रथम ‘नेपाली तारा’ दीपक लिम्बु नेपाली सुगम संगीत र पाश्र्व गायनमा चिनाइरहनु पर्ने नाम होइन । कुनै समय पाश्र्व गायनसँगै सुगम संगीतमा व्यस्त यी गायक अहिले भने खासै सुनिँदैनन् । दीपकले स्वर दिएका राष्ट्रिय भावना गीत, आधुनिक गीत तथा फिल्मका गीत सुन्ने हो भने अधिकांश गीत श्रोता र दर्शकको जिब्रोमा झुण्डिएका छन् । पछिल्ला वर्षहरुमा भने यी गायक विशेषत पाश्र्वगायनमा खासै सुनिँदैनन् ।

हालैको एक भेटमा दीपकले आफू पाश्र्व गायनमा कम सुनिनुको कारण खुलाए । ‘फिल्मको गीत गाउन छोडेको ३,४ वर्ष भयो । काम गर्ने शैली र समय फेरियो होला । काम गर्ने तरिका पनि फरक भए । समय, तरिका फेरिए पनि म हराएको छैन । म संगीतमा लामो रेसको घोडा हुन चाहन्छु’, दीपक भन्छन् ।

दीपकले आफूले प्रोडक्सन हाउस खोलेर फिल्म निर्माणको योजना बनाइरहेको खुलाए । ‘फिल्म बनाउने विषयमा अध्ययन गरिरहेको छु । सायद केही समयभित्र म फिल्मको घोषणा नै गर्नेछु’, उनी भन्छन् ।

दीपक आगामी भदौ १७ गते आफ्नो सांगीतिक करियरको पहिलो स्वर्णिम साँझमा काठमाडौंमा सुनिँदैछन् । दीपकले गाएको ‘नाइँ नभन्नू ल’, ‘सिम्पल सिम्पल कान्छी’, ‘ढल्क्यो ढल्क्यो’, ‘आँखा आँखा बोले नि’, ‘मुटु माग्यौ तिमीले’, ‘मैले त्यही भएर मनपराएको’, ‘मैले माया गर्न जानिनँ होला’, ‘यहाँ देशको छ चिन्ता’लगायतका गीत लोकप्रिय छन् ।