काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ राखेको थियो । तर, निर्माणपक्षले यसको केही समयअघि नाम परिवर्तन गर्यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो ।
यद्यपि, ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ धार्मिक फिल्म नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । विषय र प्रसंगले जुरेको नामका आधारमा फिल्म नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ ।
‘हाम्रो फिल्म धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,’ निर्देशक न्यौपानेले भने, ‘तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं । काम गर्ने मान्छे काम गरौँमा कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौैं भनेर शब्द परिवर्तन गर्यौं ।’
यद्यपि, निर्देशक न्यौपाने आफूहरूले चाहेको भए पुरानै नाम राखेर फिल्म बनाउन सक्ने बताउँछन् । सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न सक्ने उनको भनाइ छ । कसैले पनि कुनै पनि विषयमा सिनेमा बनाउन रोक्न नसक्ने उनी प्रष्ट पार्छन् ।
यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ । फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।






