काठमाडौँ । आगामी कार्तिक २१ गते रिलिज हुने फिल्म ‘जारी २ः सङ् अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । फिल्मले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।
दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई यो फिल्म हेर्न प्रेरित गर्नेछ । तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।






