काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ ।
सामाजिक सञ्जालमा भाईरल बन्न कलाकार सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतलाई फिल्मले समेटेको छ । यो फिल्ममा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधेका छन् ।
सौगातले फिल्ममा एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको पात्रले टिकटकमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कतलाई देखाइएको छ । तर, उसले वास्तविक जीवनमा यथार्थको सामना गर्नुपर्दा रिल र रियल लाइफबीचको अन्तरविरोधमा मुख्य पात्र कसरी अघि बढ्छ भन्ने कथा फिल्ममा देखाइएको छ ।
फिल्ममा ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशक निगम श्रेष्ठको निर्देशन छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्मका सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल छन् ।







