काठमाडौं । गत फागुन १ गतेबाट रिलिज फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को प्रदर्शन चुनावको कारण स्थगित गरिएको छ । फिल्म वितरक कम्पनी नेसनल सिने ग्रुप नेपालले मंगलबार एक विज्ञप्ती मार्फत देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै फागुन ६ गतेदेखि फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ ।
‘यो निर्णयबाट सम्पूर्ण दर्शकवर्ग, चलचित्र प्रदर्शक र सम्बन्धित सबै पक्षलाई पर्न गएको असुविधा प्रति क्षमायाचना व्यक्त गर्दछौं’, अध्यक्ष दीपक दंगालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा फिल्म आगामी नयाँ वर्ष २०८३ साल वैशाख १८ गतेबाट अझ व्यापक प्रचारप्रसार तथा भव्य प्रस्तुतीका साथ नेपालभर प्रदर्शनमा ल्याइने बताइएको छ ।
फिल्म रेञ्जको व्यानरमा सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।
पारिवारिक सम्बन्धको कथामा आधारित फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । फिल्मका गीतमा वसन्त र रञ्जीत गजमेरले संगीत दिएका छन् ।




