काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस फिल्मको २८ औँ दिनमा छायांकन सकिएको हो ।
गत फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको ‘माया भनेकै यस्तो होला’को नियमित छायांकनपछि टुंगिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए ।
फिल्ममार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय रहेको फिल्ममा पूर्व मिस नेपाल उषा खड्गी विशेष भूमिकामा छिन् ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । यस फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् । फिल्म आगामी तिजमा रिलिज हुँदैछ ।




