काठमाडौँ । विसं २०८२ नेपाली फिल्मका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका फिल्मले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका फिल्म हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई सय ३० वटा नयाँ फिल्म दर्ता र ९४ चलचित्रले फिल्म जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ ।
यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी फिल्म प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने फिल्म ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको सङ्ख्या ५७ पुग्नेछ । बोर्डका अनुसार हाल नेपालमा एक सय ७२ फिल्म भवन रहेका छन् भने फिल्म उपलब्ध गराउने वितरक संस्थाको सङ्ख्या ४४ पुगेको छ ।
यस वर्षको हालसम्म नेपाली फिल्म हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक हलमा आउँदा रु एक अर्ब आठ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको फिल्म ‘परान’ ले रु १७ करोड ७६ लाख ८४ हजार ४१० कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी फिल्म बनेको छ ।
यस वर्ष सर्वाधिक कमाई गर्ने फिल्म ‘परान’ का लागि कुल छ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त फिल्मले विशेषतः परिवारलाई नै दर्शक बनाएर फिल्मसम्म ल्याउन सफल भएको थियो । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा फिल्म ‘आ बाट आमा’ रहेको छ । उक्त फिल्मका लागि पाँच लाख चार हजार ३२९ टिकट बिक्री हुँदा रु १३ करोड १३ लाख ७८ हजार ५२० कमाई भएको छ । आमा र छोरा बीचको कथा देखाइएको फिल्म हालसम्म पनि नेपालका केही हलमा प्रदर्शनरत छ ।
सर्वाधिक कमाई गर्ने फिल्मको सूचीको तेस्रो स्थानमा फिल्म ‘जेरी अन टप’ रहेको छ । उक्त फिल्मले रु १२ करोड २८ लाख ८४ हजार कमाई गर्न सफल भएको छ । उक्त फिल्मका लागि तीन लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् ।
प्रेम कथानक फिल्म ‘ऊनको स्वीटर’ यस वर्ष विसं २०८२ मा सर्वाधिक कमाई गर्ने फिल्म सूचीको चौथो स्थानमा रहेको छ । उक्त फिल्मले घरेलुबजारमा रु ११ करोड ४१ लाख ९२ हजार १९५ कमाई गरेको छ । नवीन चौहानले निर्देशन गरेको उक्त फिल्मका लागि तीन लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् ।
यस्तै, पाँचौँ स्थानमा रहेको फिल्म ‘जारी २’ ले रु ६ करोड २४ लाख १७ हजार ४५३ कमाई गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको उक्त फिल्मका लागि दुई लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् ।
यस्तै, सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको फिल्म ‘बलिदान’ ले रु पाँच करोड १० लाख ५१ हजार १७२, सातौँ स्थानमा रहेको फिल्म ‘मोहर’ ले रु पाँच करोड आठ लाख ९५ हजार ५१२, आठौँ स्थानमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले रु चार करोड ७१ लाख ३८ हजार ६८७, नवौँ स्थानमा रहेको फिल्म ‘माग्ने राजा’ ले रु चार करोड ६९ लाख ४३ हजार ६५१ र दसौँ स्थानमा रहेको फिल्म ‘माइतीघर’ ले रु चार करोड १६ लाख ३१ हजार ८६३ कमाई गरेको छ ।




