धादिङकी चाँदनी बनिन् ब्युटिसियन ट्यालेन्ट नेपाल

काठमाडौं । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि आयोजित ‘न्युलुक ब्युटी फर लाईफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८को ग्रान्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ । यो प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी ब्युटिसियन चादनी श्रेष्ठ बिजेता भएकी छिन् । उनले २५ हजार रुपैयाँ नगद, शिर्ष उपाधिसहित बेष्ट हेयर स्टाईलिस्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड र मल्टि मिडिया अवार्ड पनि जितिन् ।

बिहिबार राती नाचघरमा सम्पन्न समारोहमा भिवर्स च्वाईस अवार्ड र बेस्ट आईल्यासेस टेक्निसियन अवार्डसहति खोटाङकी हिरा राई फस्ट रनरअप भइन् । उनले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरिन् । बेस्ट स्क्रिन अवार्डसहित संगीता राई सेकेन्ड रनरअप भईन भने उनले १० हजार रुपैयाँ र क्राउन प्राप्त गरिन् ।

रोज ब्युटि एकेडेमी र बिलक्षण क्रियसन प्रा।लि।द्धारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८मा मोस्ट डिसिप्लेन अवार्डसहित अनिता गुरुङले थर्ड रनरअपको उपाधि हासिल गरिन् । यस्तै स्वस्तिका अधिकारी बिष्टले बेष्ट आई अवार्ड सहित म्यानेजमेन्ट च्वाईस अवार्ड जितिन् भने बेष्ट स्टाईलिस्ट अवार्डसहित अस्बिना सिंहले अर्गनाईजर च्वाईस अवार्ड प्राप्त गरिन् ।

सामारोहमा रेश्मा केसीले बेष्ट ड्रेस र मोस्ट इन्नोसेन्ट अवार्ड, मिना मोक्तानले मोस्ट ब्युटिफूल अवार्ड, सलिना थापाले बेष्ट फिगर अवार्ड, सम्झना लिम्बुले मोस्ट फोटोजेनिक अवार्ड, रेखा लामिछानेले मोस्ट बब्ली अवार्ड, राधा चौधरीले बेस्ट मेकअप अवार्ड हाँसिल गरे । यस्तै रविना तामाङले मोस्ट ट्यालेन्ट अवार्ड प्राप्त गरेको सो ग्रान्ड फिनाले समारोहमा रेणुका कुमारी चौधरीले बेष्ट मेकअप अवार्ड, गौरी कार्कीले मोस्ट फ्रेन्डली अवार्ड, चन्द्रा ताम्राकारले बेष्ट स्माइल अवार्ड, अञ्जु तुलाधर श्रेष्ठले मोस्ट सिभिलिटी अवार्ड, इशारा गुरुङले बेस्ट क्याटवाक अवार्ड र सरस्वती आचार्य गौतमले बेष्ट आयुर्वेदिक थेरापिष्ट अवार्ड हाँसिल गरे ।

ग्रान्ड फिनालेको निर्णायकमा अग्रज गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालय (सिटिइभिटी)की प्रिन्सिपल पशुपति जोशी, फेशन डिजाइनर गोमा अधिकारी धिताल, अग्रज ब्यु्टिसियनद्धय सिता श्रेष्ठ, मञ्जु सापकोटा र सामाजिक अभियान्ता ज्ञानु श्रेष्ठ थिए । बेस्ट ड्रेसको निर्णायकमा फेसन डिजाईनर गोमा अधिकारी र मितु अधिकारी थिए ।

जयन सुब्बा मानन्धरको कोरियोग्राफी र कृष्ण रसालको डान्स कोरियोग्राफी रहेको यो प्रतियोगिताको निर्देशकमा सरिता भारती थिईन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले सो कार्यक्रमको उद्घाटन गर्दै ब्युटिसियनहरुको प्रोत्साहनमा बिगत ८ वर्षदेखि यो प्रतियोगिताले महत्वपूर्ण योगदान दिएको बताए ।

आयोजक संस्था रोज ब्युटि एकेडेमीकी अध्यक्षा सोनी कारंजितले कार्यक्रममा स्वागत मन्तवइ दिँदै ब्युटिसियनहरुको प्रतिभालाई उजागर गर्न आफूहरुले यो कार्यक्रम गर्दै आएको बताईन् ।

यस्तै बिलक्षण क्रियसन प्रा।लि।का अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै राज्यका तर्फबाट ब्युटिसियनहरुलाई माथि उठाउने कार्यक्रमहरु नभएका कारण ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गरिएको र यसले उनीहरुलाई ब्यक्तित्व विकास र अन्य कार्यका लागि अघि बढ्न प्रेरणा दिएको छ भने ।

समारोहमा गायकहरु नारायण थापा, ओम सुनार, सविना सुवेदी, रमेश पाठक र गायिका सारिका घिमिरेले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।