गीतकार राधाको जति माया दिए पनि

काठमाडौं । गीतकार राधा भण्डारीको शब्द रहेको गीत ‘जति माया दिए पनि’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमममा कवि तथा गीतकार एसपी कोइरालाले गीत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गीतकार राधाले आफ्नो गीति लेखनको यात्राका क्रममा भएका अनुभवहरुलाई सुनाउँदै आख्यानबाट गीति लेखनतर्फ अघि बढेको बताइन् । २०६१ सालमा लेखिएको गीतलाई अहिले रेकर्ड गरिएको बताउँदै पहिलो सिर्जनाका रुपमा रेकर्ड भए पनि आगामी दिनमा आफ्ना सिर्जनालाई संग्रहित गराउने लक्ष्य भएको बताइन् ।

संगीतकार सन्तोष श्रेष्ठले गीतकार भण्डारीका सिर्जनाहरु अब्बल भएको बताउँदै छोटो समयको संगीतमा गीतकार भण्डारीको फराकिलो मन र बौद्धिक क्षमता भएको सुनाए । ‘जति माया दिए पनि’ गीतका प्रस्तुतकर्ता गीतकार प्रमोद भण्डारीले गीत रेकर्ड र भिडियो निर्माणका क्रममा सहजीकरण गर्ने मौका दिएको राधा भण्डारी जस्ता नारी गीतकारहरुलाई उर्जा दिनुपर्ने बताए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आख्यानमा जस्तै गीत सिर्जना पनि निरन्तरता दिन आग्रह गरे । संगीतकार राजु सिंहले गीतको अडियो नै राम्रो बन्नु पर्ने बताउँदै शुभकामना दिएका थिए । कवि तथा गीतकार एसपी कोइरालाले गीत लेख्न सजिलो नभएको बताए । कविता, आख्यान लेख्नुभन्दा गीत लेख्नु र कथालाई पाँच मिनेटभित्र कैद गर्नु निकै गाह्रो भएको बताउँदै गीतकार राधा भण्डारीलाई गीत लेखनलाई संग्रहित गर्न प्रेरित गरे ।