साउन २२ मा कमला मिस

काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक नीर शाह निर्देशकीय फिल्म ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक पनि गरेको छ ।

पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ । निर्माण पक्षले फिल्मको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

मनोवैज्ञानिक कथामा आधारित फिल्ममा निर्देशक निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।

एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस चलचित्रले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।