वर्ड अफ माउथले बढे लालीबजारमा दर्शक

काठमाडौँ । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको संख्या दोस्रो सातामा झनै बढेको छ । वादी समुदायको पृष्ठभूमिमा आमाछोरीको कथामा आधारित फिल्मलाई बलियो ‘वर्ड अफमाउथ’ दिएकै कारण दोस्रो सातामा शो संख्या र दर्शकको चाप बढेको हो । निर्माता म्याक्स दीपेश खत्रीले दोस्रो साताको शुक्रबार र शनिवारको व्यापार पहिलो साताको तुलनामा झन बढेको बताए ।

उनले दोस्रो सातामा प्रवेश गरेपछि शोसँगै दर्शकको उपस्थिति संख्या पनि उल्लेख्य रहेको जानकारी दिए । ‘पहिलो साताभन्दा दोस्रो सातामा दर्शकको उपस्थिति बढ्नुले हाम्रो फिल्ममा दर्शक सन्तुष्ट छन् र आफैँले प्रचार गरिरहेका छन् भन्ने प्रमाणित गर्छ । दर्शकले फिल्ममा देखाईएको आमाको संघर्षलाई रिलेट गरेका छन्’, उनले भने । उनले वादी समुदायकै अभियन्ताले समेत फिल्म हेरेपछि तारिफ गरिरहेको बताए ।

फिल्म हेरेकी ‘मकै बारी द¥याम द¥याम’ गायिका सुष्माशाही ठकुरीले फिल्मका दृश्यले आफूलाई भावुक बनाएको बताइन् । ‘फिल्मले देखाएको संघर्ष हरेकको जीवनसँग कनेक्ट हुन्छ, म पनि भएँ । फिल्ममा आमा बन्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काका केही दृश्यले मेरो आँशु झर्यो, म भावुक भएँ’ उनले भनिन् ।

यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशापौडेल, गोविन्द सुनार, आभाआर्याल, तारा शर्मा, रमेशवादी, सरस्वतीअधिकारी, जानकी कडायत, निश्चलपन्थी र विरवलचौधरीलगायतकलाकारहरूको अभिनय रहेको छ ।