निर्देशक समाजको नेतृत्वमा अरुण

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार भएको समाजको १८औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा अरुणले निकटतम प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई ६३ मतले पछि पार्दै जित निकालेका हुन् । उनले १०९ मत ल्याउँदा निवर्तमान अध्यक्षसमेत रहेका जनकले ४६ मतमात्र ल्याए ।

त्यस्तै, दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली विजयी भएका छन् । सुवासले ९५ मत ल्याउँदा दीपकले ७१ मत प्राप्त गरे । महासचिवमा भने समुन्द्र भट्ट १०६ मतका साथ विजयी भइन् । उनका प्रतिद्वन्द्वी कमल एक्चै मगरले ४७ मत पाए । सचिव पदमा राजबहादुर साने ८० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा जनक खड्का निर्विरोध हुँदा सह–कोषाध्यक्षमा उत्सव केसी विजयी भए । उनले ६६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमृतमान महर्जनले ४४ मत प्राप्त गरे । सोही पदका अर्का उम्मेद्वार भीषण राईले ४२ मत ल्याए ।

६ जना सदस्यमा भने लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भए । समाजको कार्यकाल ३ वर्षको हुनेछ ।