आइ एम जीत बहादुर ट्रेलरमा जितुको कलाकार संघर्ष

काठमाडौँ। अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज गर्न काठमाडौंमा कार्यक्रम नै आयोजना गरिएको थियो ।

ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा जितुको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन्। फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल, अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।