साउन २२ मा हली

काठमाडौँ । ओम प्रतीकको निर्देशनमा निर्माण भएको फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार फिल्मका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

एउटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा स्वभावमा देखिएका छन्। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई प्रस्तुत गरेको छ।

उनीहरुको पछाडी एक घरको दैलोमा भित्र र बाहिर दुई महिला थाल बोकेर बसेका छन्। सायद जुठो भाँडा हातमा भएको देखिन्छ। यसले नारीको बेदना कथाले भन्न खोजेको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको यस फिल्मको कथावस्तुप्रति निर्देशक ओम प्रतीक विश्वस्त छन् । यसको कथा उनी आफैंले लेखेका हुन् ।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। फिल्मको विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ। जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्, जसको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्। फिल्मका अन्य गीतहरूको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस चलचित्रमा राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। साथै सम्पादन विपिन मल्लले गरेका हुन् । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।