सामाजिक मुद्धामा बलिउड फिल्म

मुम्बई(एजेन्सी) । बलिउड फिल्म केवल मनोरञ्जन मात्र दिँदैनन् कैयौं पटक फिल्मका कथाले समाजलाई ऐना देखाउने पनि काम गरेका छन् । अलग–अलग रुपमा यस्ता कथा र मुद्धामा फिल्म बनिरहेका छन् । जसलाई लिएर समाजमा एक नकारात्मक सोच या पूर्वाग्रह रहने गरेको छ । यस्ता नकारात्मक सोचलाई चिरफार गर्न ती फिल्म सफल पनि भएका छन् ।

आगामी फेब्रुअरी ९ मा रिलिज हुन लागेको अक्षय कुमारको फिल्म ‘पेड मेन’ पनि यस्तै फिल्म हो, सामाजिक मुद्धामा बहस उठाएको छ । महिलालाई हुने महिनावारीका विषयमा हालसम्म कुनै पनि फिल्मले चर्चा र परिचर्चा नगरिरहँदा अक्षयको फिल्मले त्यही विषयलाई उठान गरेको छ । चेतनाको अभावमा युवती तथा महिलाहरु हरेक किसिमका भ्रम र अन्धविश्वासको शिकार बन्ने गरेको विषयलाई फिल्ममा उठान गरिएको छ । यो फिल्मले सेनिटरी पेड्सको प्रयोगमा कतै संकोच त कतै उपलब्धताको अभावमा महिलाले भोगेको पीडालाई फिल्ममा देखाइनेछ । अक्षयको फिल्मले यही विषयमा विना संकोच कुराकानी गरेको छ । फिल्ममा नायक बनेका अक्षयले महिलाको यिनै विषयमा बहस गर्छन् । फिल्ममा राधिका आप्टे र सोनम कपुर पनि छन् । फिल्मका निर्देशक आर बाल्की हुन् ।

सन् २०१७ मा रिलिज अक्षयको अर्को फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’मा शौचालयको विषयलाई लिएर मुद्धा उठाइएको थियो ।  फिल्ममा भूमि पेडनकरले अक्षयको पत्नीको भूमिका निर्वाह गरेकी थिइन् । जो घरमा ट्वाइलेट बनाउनका लागि एउटा आन्दोलन शुरु गर्छन् । फिल्मको निर्देशक श्रीनारायण सिंहले गरेका थिए । सन् २०१७ मै आएको आरएस प्रसन्नाको निर्देशनमा बनेको फिल्म ‘शुभ मंगल सावधान’ पुरुष नपुंसकतामा आधारित थियो । पुरुष नपुंसकतालाई समाजले राम्रो किसिमले नहेरिरहँदा यो फिल्म रिलिज भएको थियो । आयुष्मान खुराना र भूमि पेडनेकरले शीर्ष भूमिका निर्वाह गरेका थिए ।

श्रेयस तलपडेले निर्देशन गरेको फिल्म ‘पोस्टर बोइजÞ’ले नसबंदीको विषयलाई लिएर समाजमा फैलिएको भ्रमलाई उठान गरेको थियो । फिल्ममा सनी देओल र बबी देओल प्रमुख भूमिकामा थिए । अलंकृता श्रीवास्तवको फिल्म ‘लिपस्टिक अन्डर माइ बुर्कÞा’ उमेर पुगिसकेका महिलाको यौन जीवनको विषयलाई लिएर समाजमा फैलिएको पूर्वाग्रहमा आधारित थियो । फिल्ममा रत्ना पाठकको भूमिका मार्फत यो विषयलाई अगाडि ल्याइएको थियो ।  शुजित सरकारको निर्देशन बनको ‘विक्की डोनर’ले स्पर्म डोनरको विषयमा उठान गरेको थियो । हिन्दी फिल्ममा यो विषय यो भन्दा अघि कसैले उठाएको थिएन । आयुष्मान खुराना र यामी गौतम फिल्ममा शीर्ष भूमिकामा थिए ।

रेवती निर्देशित फिल्म ‘फिर मिलेंगे’मा एड्सको सामाजिक विषय उठान गरिएको थियो । फिल्ममा शिल्पा सेठ्ठी प्रमुख भूमिकामा थिइन् भने सलमान खान गेष्ट अपिरेन्समा थिए । फिल्ममा अभिषेक बच्चन पनि प्रमुख भूमिकामा थिए । ओनीरको फिल्म ‘माइ ब्रदर निखिल’मा एचआईभी संक्रमणका कारण हुने सामाजिक हेलालाई विषय बनाइएको थियो । फिल्ममा संजय सूरी र जूही चावला प्रमुख भूमिकामा थिए ।