सानको भिडियोमा रोमान्टिक सुजन–एलिसा

काठमाडौं । बुधबार पर्ने भ्यालेन्टाइन डेलाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनी देखिएका छन् । गीतमा सुजनसँगै एलिसा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम ‘कालजयी (२’ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

गायक सुजनले ‘कसम मन पर्यो’ को भिडियो प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरेको बताए । ‘गीतमा मैले लिम्बु कल्चर पनि समेटेको छु । गीतमा म आफैले अभिनय गरेको छु । लिम्बु कल्चर समेटिएकोले म आफैले अभिनय गरेको हु,’उनले भने,‘दर्शकको रोजाई अनुसारको भिडियो तयार गरेको जस्तो आभाष भएको छ । यो प्रणय दिवसमा यस गीतले तपाईलाई मायाको आभाष दिलाउछ भन्नेमा विश्वस्त छु ।’ भिडियोका निर्देशक सान थापा गीत रमाइलो बनाउने कोशिस गरेकाो बताए । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गरेको सानको दाबी छ ।