जोङयुनको अन्त्येष्टिमा रोयो विश्व

सोल(एजेन्सी) । २७ वर्षको उमेरमै आत्महत्या गरेका कोरियन सुपरस्टार जोङयुनको भावपूर्ण अन्त्येष्टि गरिएको छ । सिने नामक दक्षिण कोरियाको चर्चित व्याण्डका प्रमुख गायक जोङयुनको वास्तविक नाम किम जोङ ह्युन हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको निधनको खबर सार्वजनिक भएपछि विश्वव्यापी रुपमा छरिएर रहेका के पप समुदायका फ्यानहरुले उनी प्रति समवेदना व्यक्त गरेका छन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि उनको शव राखिएको अस्पताल बाहिर फ्यानको भीड लागेको थियो ।

उनले डिप्रेसनका कारण आत्महत्याको बाटो रोजेको बताइएको छ । आत्महत्या हुनु अघि उनले आफ्ना साथीलाई पठाएको मोबाइल सन्देशमा उनले आफ्नो संघर्षको कुरा सुनाउँदै डिप्रेसनको पनि कुरा गरेका थिए । उनले ‘म भित्रबाटै टुक्रिएको’ र ‘जीवनमा पाएको उपलब्धि मेरा लागि कहिल्यै हुन सकेन’ भन्ने सन्देश पठाएका थिए । उनको शवलाई अस्पतालबाट बिहीबार बाहिर निकालिएको छ । उनको शव बाहिर निकाल्दा सिने समूहका अन्य सदस्य र पप समूह सुपर जुनियरका सदस्य पनि थिए ।
जोङयुनलाई सोलको अर्पाटमेन्टमा गत मंगलबार बेहोस अवस्थामा भेटिएको थियो । उनको शव पोस्टमार्टम गरिएको छैन ।व्याण्ड समूह सिने सन् २००८ मा स्थापित भएको हो । एसएम इन्टरटेनमेन्ट भित्र रहेर निर्माण गरिएको यो व्यण्डमा पाँच सदस्य छन् ।