पुराना फिल्म डिजिटलाइज गर्दै विकास बोर्ड

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डकी अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको केही समय अघि बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डले पहिलो नेपाली फिल्म ‘आमा’सहित १२ वटा फिल्मलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो । पुराना फिल्महरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना फिल्महरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ । डिजिटाईजेशन भएपछि सबै १६ एमएम र ३५ एमएमका फिल्महरु अब २ के र ४ के फर्म्याटमा ल्याउन सकिनेछ ।

आगामी असार १६ गते बोर्डको वार्षिकोत्सवमा नेपाली फिल्मको निमार्ण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको मौका पार्दै ती फिल्मलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी बोर्डले गरेको छ । पुराना फिल्मलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताइन् । बोर्डले आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, बिश्व्वाश, र शान्तिदीपजस्ता फिल्म डिजिटाईजेशन हुन लागेको हो ।