युरोपमा सुनिँदै नेपाली बाजा

काठमाडौं । नेपालमा बनेका बाजाहरुलाई देश बाहिर हुने विभिन्न कार्यक्रममा सुनाउँदै आएको ‘प्राना मुण्डी ब्याण्ड’ले यसपटक युरोपमा नेपाली बाजा घन्काउने भएको छ । वर्षमा तीनपटकसम्म युरोपका विभिन्न देशमा पाँच वर्षदेखि नेपाली बाजाहरुलाई सुनाउँदै व्याण्डले यसपटक पुनः युरोपलाई नै कार्यक्रस्थलको रुपमा लिएको छ ।
बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्नालगायतका बाजाका धुन सुनाउने व्याण्डले पाँचौं प्रस्तुति यसपटक युरोपमा दिन लागेको हो । आगामी मार्च ४ बाट पुनः युरोपका विभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने ब्याण्डका प्रमुख बाँसुरीबादक प्रताप केसीले बताए । उनकाअनुसार एक महिनाको यात्रामा व्याण्डले युरोपका झण्डै आधा दर्जन देशमा कार्यक्रम गर्नेछ । ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । विदेशी नागरिकले नेपालका मौलिक धुनलाई निकै मन पराउँछन् । त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’ केसीले भने ।

यसअघि यो ब्याण्ड गत सेप्टेम्बर १ देखि ३५ दिनसम्म युरोप टुरमा थियो । व्याण्डले युरोपका अस्ट्रिया, भेन्या, जर्मनी, इटाली लगायतका देशहरुमा आफुहरुको कार्यक्रम तय भएको केसी बताउँछन् । अहिलेसम्म गरेका युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोलीबाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक रहने गरेको केसीले बताए ।

‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । साथै हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । अस्ट्रिया नागरीक बिली र बर्नहार्डको आर्थिक सहयोगमा नेपालका सम्पुर्ण सहयोग ‘प्राना मुण्डी ब्याण्ड’ले गरेको केसीले जानकारी दिए । आठ लाख बराबरमा निर्माण भइरहेका दुई घर अबको दुईसाता भित्रै हस्तान्तरण गरिने पनि उनले बताए । व्याण्डका तीन सदस्य छन् ।