प्रहरीको फन्दामा उदित पुत्र आदित्य

मुम्बई(एजेन्सी) । नेपाली तथा हिन्दी पाश्र्व गायनका ख्याती प्राप्त गायक उदितनारायण झाका एक्ला छोरा आदित्य नारायणलाई प्रहरीले पक्राउ गरेको छ । मुम्बईको वर्सोवा पुलिसले एक दुर्घटनाका सिलसिलामा उनलाई पक्राउ गरेको हो । उनको गाडीले एक अटो रिक्सा चालकलाई ठक्कर दिएर एक यात्रीलाई घाइते बनाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि भारतीय दण्ड संहिताको धारा २७९ र ३३८ अनुसार कारवाही गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य नारायण विवादमा आउनु यो पहिलोपटक होइन । गत वर्ष तोकिएको सामानको तौल भन्दा बढी सामान बोकेको कारण जनाउँदै रायपुर एयरपोर्टमा सरकारी अधिकारीलाई उनलाई रोक लगाएका थिए । यो विषयमा विवाद भएपछि उनले एयरलाइन्सका अफिसरलाई धम्की पनि दिएका थिए ।

आदित्यले आफ्नो करियरको शुरुवात ९० को दशकमा गरेका थिए । उनले १९९५ मा ‘अकेले हम अकेले तुम’बाट बलिउडमा करियर शुरुवात गरेका थिए । उनले हालसम्म धेरै प्रख्यात गीत बलिउडलाई दिइसकेका छन् ।