शत्रु गतेका हरिवंशः ‘दर्शकको फिल्मी स्वाद बुझ्यौं’

काठमाडौं । सत्र वर्ष पछि आफ्नो व्यानर मह सञ्चारबाट फिल्म ‘शत्रु गते’ बनाएका कलाकार तथा निर्माता हरिवंश आचार्य फिल्म प्रति दर्शकले देखाएको चासोमा खुशी छन् । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यो फिल्म हेर्न शुक्रबार भन्दा शनिवार हलमा दर्शक बढी देखिए । मल्टिप्लेक्सको तुलनामा सिंगल थिएटरमा सोचे भन्दा कम दर्शक आए पनि हरिवंश उनीहरु प्रति कृतज्ञ छन् ।

‘फिल्मलाई दर्शकले रुचाउनु भएको छ । यो नै हाम्रो पहिलो सफलता हो । दोस्रो सफलता शुक्रबार भन्दा शनिवार दर्शक बढेका छन् । म आफै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिदा शत प्रतिशत पोजेटिभ पाएको छु,’ हरिवंशले भने, ‘हामीले फिल्म रेकर्ड तोडन बनाएका हैनौ । हामीले दर्शकको मन जित्यौ । दशकपछि फिल्म मेकिङमा आउदा हाम्रो टिमले दर्शकको रुचाइ अनुसारको फिल्म ल्याउन सक्यौ । दर्शकको फिल्मी स्वाद बुझ्यौ ।’ उनले शनिवार फिल्म राजधानी तथा मोफसलमा हाउसफुल हुनु मात्र सफलता नभई फिल्मलाई दर्शकले राम्रो छ भन्नु नै ठूलो सफतला भएको बताए ।

फिल्मका निर्देशक प्रदिप भट्टराईका अनुसार शुक्रबार फिल्म हेरेका दर्शकमार्फत फैलिएको ’वर्ड अफ माउथ’ का कारण शनिवार फिल्मलाई दर्शकको साथ मिलेको थियो । उनले राजधानीको क्युएफएक्स, बिग मुभिज, बिएसआर मुभिज सहित गोपीकृष्ण, अस्टनारायण, गुण सिनेमाका अधिकांश हल हाउसफूल भएको बताए । ‘फिल्मलाई दर्शकले रुचाइदिनु भएकोमा आभारी छु । दर्शकले फिल्म रुचाइरहदा ‘जात्रा’ मार्फत फिल्मकर्मी माँझ जताएको विश्वास के होला भन्ने मनमा जिज्ञासा थियो । तर फिल्मकर्मीले पनि रुचाए पछि म ढुक्क भएँ,’ उनले भने ।

किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्यको लगानी छ ।