प्रविशाको पखेटामा निकेशको नौलो प्रयोग

काठमाडौं । गीत अनुसार भिडियो निर्देशन गर्न निकेश खड्का निकै माहिर छन् । खास गरी भिडियोमा निकेश नौलो कुराको प्रयोग गर्न रुचाउँछन् । गायिका प्रविशा अधिकारीको नयाँ गीत ‘पखेटा’को भिडियोमा पनि निकेशको नयाँ प्रयोगलाई प्रष्ट देख्न सकिन्छ । मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ । गायनमा प्रविशासँग विष्णु आचार्यले सहकार्य गरेका छन् ।

निकेशको यो भिडियोमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको यो गीत वान सटमै छायांकन गरिएको हो । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् ।

गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सिङ फिरोज बज्राचार्यले गरेका छन् । गीतमा सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाको अभिनय छ । उत्तम हुमागाईंले खिचेको भिडियोमा रुपेश खड्काको सम्पादन छ । निर्देशक खड्काले धनले पखेटा फिजाउँने तर त्यसको मात लागेपछि के हुन्छ भन्ने अवस्थालाई गीतमा चित्रण गरेको बताए ।