इलाममा १८८ सिट क्षमताको फ्रेन्ड्स सिनेमा सुरु

काठमाडौं । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

फिल्म ‘आ बाट आमा’का अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेती र निर्देशक, निर्माता चन्द्र पन्त, इलाम नगरपालिकाका मेयर केदार थापा र निवर्तमान सांसद महेश बस्नेतले संयुक्त रुपमा सिनेमाको शुभारम्भ गरे ।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ । नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा टुके प्रोजेक्सन र डल्बी डिजिटल साउन्ड सिस्टम जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकहरूलाई एउटा पारिवारिक र सुविधासम्पन्न वातावरणमा फिल्म हेर्ने अवसर प्रदान गर्न यो हल सञ्चालनमा ल्याइएको बताए ।