पूर्वमा दी भ्वाईसको डिजिटल अडिसन

काठमाडौं । विश्वका १ सय ९१ राष्ट्रमा सफल प्रसारण भईरहेको गायन रियालिटी शो ‘द भ्वाईस’को नेपालमा डिजिटल अडिसन सकिएको छ । इटहरीको स्थानीय आयोजक एएनसी इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनका क्रममा आयोजकले अब ब्लाइण्ड अडिसन हुने र सो अडिसनमा समावेश प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रव्य दृश्य सामाग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको जानकारी दिईएको छ ।

ब्लाईन्ड अडिसनमा निर्णायकमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन् । कार्यक्रम ब्लाईन्ड राउण्ड, ब्याटल राउण्ड र लाईभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजना प्रतिष्पर्धीबाट एकजना भ्वाईस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा लक्ष्मण पौडेल निर्देशक, फिरोज तिमल्सिना मुख्य सहायक निर्देशक र आइडी हेड तथा सुशिल नेपाल होस्टका रुपमा रहनेछन् । कार्यक्रममा विजेताले नगद २५ लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुर गराईने छ ।