काठमाडौं । निर्देशक सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्। फिल्मको ट्रेलर बिहीबार सार्वजनिक हुँदैछ ।
यो फिल्ममार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन् भने रुबी सेन सिंह निर्माता हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। फिल्मको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायत विभिन्न स्थानमा गरिएको हो।
फिल्ममा रनजीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ।







