गौथली पोस्टरमा अरुण र सिम्रन

काठमाडौं । फिल्म ‘गौँथली’को दुई पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको दुई पोस्टरमध्ये एउटामा फिल्मका नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का अथा अर्को पोस्टरमा सिम्रनलाई मात्र देख्न सकिन्छ ।

पोस्टरले फिल्म ग्रामीण समाजको कथामा प्रष्ट्याएको छ । पहिलो पोस्टरमा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् । दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको माला लगाएर बेहुलाको लुक्समा देखिएका अरुणले बाँधेको पटुकीमा गुलेली सिउरिएका छन् । उनका हातमा औंला केही एबनर्मल देखिएका छन् ।

यता सँगै बेहुलीको पहिरनमा रहेकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ । पृष्ठभूमिमा रहेको घर र उभिएको आगनले उनीहरू कुनै गाउँका स्थानीय हुन् भन्ने प्रष्ट पार्छ । खरले छाएको सानो झुपडीले उनीहरू गरिब परिवारको रहेको संकेत गरेको छ ।

अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यसले उनी बिहे गरेपछि पनि घरको काम गर्दै पढ्दै गरेको बुझाउँछन् ।

फिलम साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । डा. कपिल रिजालले निर्देशन गरेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।