पार्वती फस्टलुकमा फरक क्षमताकी नीता

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

यी पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्य एक पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिन्छिन् । जहाँ उनलाई छोटो कपाल घाँटीमा कालो धागो र नीलो फ्रक (पिनाफोर) मा उनी एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् ।

नीताले यहाँ ‘डी–ग्लाम’ लुक्स अपनाएकी छिन् । यसले उनको पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ । उनको हेराई र मुस्कानमा एउटा अलग्गै खालको इन्नोसेन्स (निर्दोषता) देखिन्छ । यसले पार्वती समाजले सोचेजस्तो सामान्य पात्र नभएर आफ्नै संसारमा रमाउने पात्र भएको दर्शाउँछ ।

यस्तै अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् । यो तस्बिर आफैँमा एउटा बलियो विम्ब हो । उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई बोक्नुले फिल्ममा अशोकको भूमिका एक संरक्षक वा अटुट सहाराको रूपमा रहेको बुझिन्छ । दुवैको अनुहारमा झल्किने उन्मुक्त हाँसोले उनीहरूबीचको सम्बन्धमा कुनै स्वार्थ नभएको र यो एक शुद्ध भावनात्मक कथा भएको पुष्टि गर्छ । नीताले आकाशतर्फ देखाएको औँलाले पात्रका ठूला सपना वा कल्पनाशीलताको प्रतिनिधित्व गर्छ ।

फिल्म आगामी भदौ १२ गते रक्षा बन्धनमा प्रदर्शन हुने छ । पोस्टरमा दिदीभाइ जस्तो देखिने सम्बन्धलाई चित्रण गरिनु र रिलिजका लागि रक्षाबन्धन रोजिनुले यो फिल्म दिदीभाइको भावनात्मक सम्बन्ध र सामाजिक दायित्वमा केन्द्रित हुने देखिन्छ ।

फिल्ममा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता हरिहर अधिकारी हुन् । फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ।डी। कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।