बिगुलसँग नेपाल जेसिसको सहकार्य

काठमाडौ‌ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ लाई नेपाल जेसिसले सघाउने भएको छ । गत शुक्रबार फिल्म निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बीच एक सम्झौतामा हस्ताक्षर भएको थियो ।

केही साताअघि सम्पन्न फिल्मको मोफसल प्रचारप्रसार अभियानमा सघाएको नेपाल जेसिससँगको सहकार्यले आफूहरुलाई अझ धेरै उर्जा मिलेको निर्माता कोइरालाले बताए । फिल्मका कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष समेत हुन् । उनले आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्जनात्मक फिल्म निर्माण गरेको बताउदै सबै पक्षको सहयोगको अपेक्षा ब्यक्त गरे ।

अध्यक्ष कार्कीले सामाजिक कार्यमा अग्रसर युवाहरुको बिश्वब्यापी संगठन जेसिसले ‘बिगुल’ जस्तो बर्तमान नेपाली समाज,परिवार,राजनीति तथा युवाहरुको वास्तविक कथामा निर्माण गरिएको फिल्म सबै बर्ग,समुदायमाझ पुर्याउनु आवश्यक भएकाले सहकार्य गरेको प्रष्टयाए ।

निर्देशक रमेश कोइरालाले फिल्म भुइँमान्छेको कथा भएको र बर्तमान राजनीति परिदृश्यसँग निकै मिल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने धारणा राखे । उनले फिल्ममा भरपुर मनोरञ्जनका साथै आमनेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश समाहित भएको दावी गरे ।

अभिनेता नीर शाहले फिल्म जस्तो वर्तमानको वास्तवीक कथामा बिरलै फिल्म बन्ने गरेको उल्लेख गर्दै आफू यो फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस भएको बताए ।

अभिनेत्री बेनीशा हमालले ‘बिगुल’ मा आफू निकै चुनौतीपूर्ण भूमिकामा रहेको बताउदै आइरहेका फिल्महरु भन्दा अलि फरक र देशप्रेमी फिल्म भएको बताइन् । उनले हरेक नेपालीले ‘बिगुल’ हेर्नुपर्ने राय राखिन् । अभिनेता नरेन खड्काले ‘बिगुल’ मा आफू युवा शक्तिको रुपमा प्रस्तुत भएको खुलाउदै आफ्नो देशप्रति सचेत र जागरुक सबैले फिल्म मनपराउने बिश्वास ब्यक्त गरे । उनले ‘बिगुल’ मा अभिनय गर्नुअघि आफूले केही युवा नेताहरुको जीवनशैली,तौरतरिका गहन रुपले अबलोकन गरेको बताए ।

निर्माता कोइरालाले ‘बिगुल’ मा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे,भविष्यको चिन्तामा छटपटाइरहेका युवा पुस्ता र संघर्षशील महिलाहरूको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताए । उनले मोफसल दौडाहामा आमदर्शक तथा नेपाल जेसिसबाट निकै साथ,सहयोग र माया पाएको स्मरण गर्दै फिल्मले समृद्ध,बिकसित र युवा वर्गले नेतृत्व गरेको नयाँ नेपालको परिकल्पना प्रस्तुत गरेको उल्लेख गरे ।

म्याग्नेलिया गु्रपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा बेनीशा हमाल,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,हेमन्त बुढाथोकी,सरोज खनाल,बिनोद न्यौपाने,रबिन्द्र खड्का,शिसिर बाङ्देल,गीता अधिकारी,जेएन घिमिरे,मानुसी शर्मा,नव अभिनेत्री मीरा पण्डितलगायतका कलाकारको अभिनय छ । प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्बाद रहेको फिल्म शिव ढकालले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेल,बिश्वप्रकाश शर्मा,मनोज चौलागाईको संगीत अनि कमल राई र कविराज गहतराजको कोरियोग्राफी छ ।

महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् भने एनबी महर्जनको द्वन्द्व निर्देशन छ । फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।