काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो। गीतमा फिल्मका अन्य कलाकारहरु उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतलाई पनि देखाइएको छ ।
गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व र रोमान्स देखाइएको छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।
यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरको हो । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।






