रमिताको पिरतीः आनाका लागि सञ्जिवनी बुटी

काठमाडौं । दोस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्मको कथावाचन र कलाकारको अभिनयलाई मनपराएका छन् ।

फिल्म ‘जेरी’ यता अभिनयका लागि प्रशंसा नपाएकी अभिनेत्री आना शर्माका लागि ‘रमिताको पिरती’ले सञ्जिवनी बुटीको काम गरेको छ । दर्शकहरु उनको अभिनय देखेर मोहित बनेका छन् ।

फिल्मले बिखन्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोकाको यात्रालाई प्रस्तुत गरेको छ । तर, आनाले निर्वाह गरेको चरित्रले जेन्जी पुस्ताको भावनालाई दुरुस्त उतारेको युवा दर्शकको प्रतिक्रिया छ । लेखक तथा निर्देशक सुदीप्ताका अनुसार हल भिजिटमा उनलाई आफ्नै कथा हेरिरहेको प्रतिक्रिया दिएको सुनेकी छिन् ।

अभिनेता तथा निर्देशक भुवन केसी पनि आनाको अभिनयबाट प्रभावित रहेछन् । उनले फिल्म हेरेपछि जेरी जोडी अनमोल केसी र आना शर्मालाई लिएर फिल्म बनाउने रहर लागेको प्रतिक्रिया दिए । फिल्म वितरक करण श्रेष्ठका अनुसार लबिम मल, रञ्जना, वन सिनेमा, सिटी स्क्वायर आदि हलले सो थपेका छन् भने कीर्तिपुर, बिग मुभिज, शुभकामना बनेपा आदि हलले हटाएको सो फिर्ता ल्याएका छन् ।