नारायण ढकालको जगज्जननी उसकी आमाको नाम होइन सार्वजनिक

काठमाडौं । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठन यात्राका प्रारम्भिक दिन स्मरण गरे । बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए । जीवनमा आफू विभिन्न विधा र आन्दोलनमा छरिएको स्मरण गर्दै उनले भने, ‘घरी झोछेँका गल्लीहरुमा शिवधुवाँको कुइरीमण्डलमा जीवनको सपना खोज्न थालियो, घरी प्रतिबन्धित कम्युनिस्ट पार्टीको कार्यकर्ता भइयो ।’

विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए ।

नारायण ढकालको पाण्डुलिपिले आफ्नो दिमाग खराब र मन सफा गरेकाले उपन्यास प्रकाशन गरेको नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘आफूप्रति हदैसम्म निर्मम र आफ्नो लेखनप्रति हदैसम्म विश्वास भएका लेखक नारायण ढकालभित्र पटक–पटक परिष्कार गर्ने हुटहुटी र आलोचना सुन्ने लोकतान्त्रिक संस्कार प्रचुर पाएँ,’ उनले भने, ‘जगज्जननी उसकी आमाको नाम होइन नेपाली उपन्यासको इतिहासमा बिर्सन सकिने नाम होइन ।’

२०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ । ढकालका छ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन् ।

दुई सय ८६ पृष्ठको पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रै डटकम र अमेजनबाट विश्वभरका पाठकले किन्न सक्छन् ।