काठमाडौं । गत साउन २३ गते रिलिज फिल्म ‘मोहर’को सिक्वेल बन्ने भएको छ । व्यावसायिक रुपमा सफल यो फिल्मको दोस्रो भाग अर्थात् ‘मोहर २’को निर्माण हुने भएको हो ।
गत शुक्रबार निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोस्टर ‘मोहर २’ सार्वजनिक गरेको छ । जसअनुसार फिल्ममा ओम प्रतीककै निर्देशन रहनेछ भने प्रस्तुतकर्ता चुम्बनजंग शाही नै हुनेछन् । अघिल्लो फिल्ममा पनि ओम र चुम्बन सोही भूमिकामा थिए । यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोडमाथिको व्यापार गरेको थियो ।
फिल्मका निर्देशक गुरुङले पुरानै कलाकार लिने सम्भावना प्रबल रहेको बताए । उनका अनुसार हाल फिल्मको स्क्रिप्टको काम भइरहेको छ । देउकी प्रथा (मन्दिरमा भाकल गरेर कन्या चढाउने प्रचलन) मा आधारित ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय थियो ।




