चलचित्र सङ्ग्रहालयको सुरुवात

काठमाडौं । नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सङ्ग्रहालयको शुभारम्भ गरिन् ।

कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरेका थिए। सामाग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

सङ्ग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्। सिने फोकस प्रालिका रजत बुढाथोकीले रेड क्यामेरा, क्लासिक सिने युनिभर्स प्रालिका दिनेश महराले सोनी इएक्स३ क्यामेरा, फिल्म सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ १० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउण्ड र भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन्।

त्यस्तै उत्तम थापा, प्रबन्ध निर्देशक, म्यूजिक नेपाल प्रालिले १५२ वटा नेपाली फिल्मका पोस्टर तथा आर्टवर्क, रुपेन्द्र खड्गी, ओएसआर प्रालिले चलचित्र आर्टवर्कहरू, कान्तिपुर रेडियो ले ३४४ वटा फिल्मका क्यासेट तथा अडियो सिडीहरू, दर्शनबीर शाक्य, सम्पादक, पेज थ्री पत्रिकाले नेपाल भाषाका ८० फिल्मका पोस्टर उपलब्ध गराएका छन्।

जनक तामाङ, प्रबन्ध निर्देशक, हाईलाईट्स नेपाल प्रालिले २०२ नेपाली फिल्मका आर्टवर्क, सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाईनर्स ले १४६ नेपाली फिल्मका पोस्टर, फिल्मकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड, लेखक तथा फिल्मकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम फिल्म अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराएका छन् ।

यस्तै छायाँकार पुरुषोत्तम प्रधानले आफू सम्वध्द ६३ नेपाली फिल्मका स्क्रिप्टहरू, नेपाली फिल्मप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने)ले ७०४ वटा नेपाली फिल्मका पोस्टर बोर्डलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली फिल्मको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे।

‘नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,” अध्यक्ष डिसीले भने। उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे।

उनले सङ्ग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। ‘यो सुरुआत मात्र हो। हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,’ उनले प्रतिबद्धता जनाए।