काठमाडौँ । आगामी दशैंमा रिलिज हुने फिल्म ‘आ बाट आमा २’ को जापान वितरण अधिकार बिक्री भएको छ। फिल्मको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो। यसअघि यो फिल्मको अमेरिका र क्यानडा राइट्स डोको फिल्म्सले खरिद गरिसकेको छ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्मको छायांकन सोमबारबाट मकवानपुरको चित्लाङबाट सुरु भइसकेको छ। चित्लाङका अलावा विदेशमा समेत यो फिल्मको सुटिङ गर्ने सेड्युल रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्। आर्या इन्टरटेनमेन्ट प्रा।ली।को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको लेखन, पटकथा तथा निर्देशन चन्द्र पन्तले नै गर्दैछन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।
फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्काको मुख्य भूमिका रहने छ। नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।





